धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा पत्नीको हत्या गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। हत्या आरोपमा फरार रहेका हरिराम यादवलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो।
गत फागुन १७ गते हरिरामकी २० वर्षीया पत्नी अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो। शव भेटिनुभन्दा केही दिनअघि नै हरिराम १० महिनाकी छोरीलाई साथमा लिएर गाउँबाट बेपत्ता भएका थिए।
स्थानीय बासिन्दाका अनुसार पति–पत्नीबीच लामो समयदेखि घरेलु विवाद हुँदै आएको थियो। अहिले हरिराम पक्राउ परे पनि उनीसँगै रहेकी सानी छोरीको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त भएको छैन।
यस घटनाबारे थप विवरण सार्वजनिक गर्न आज दिउँसो पत्रकार सम्मेलन आयोजना गरिने धनुषाका प्रहरी प्रमुख एसपी नरहरी रेग्मीले जानकारी दिएका छन्। प्रहरीले घटनाको अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

