८ जेठ, काठमाडौं।
भारतीय क्रिकेट बोर्डअन्तर्गतको जुनियर चयन समितिले आगामी इंग्ल्यान्ड भ्रमणका लागि यु-१९ क्रिकेट टोली सार्वजनिक गरेको छ। टोलीको नेतृत्व १७ वर्षीय आयुष माथरेले गर्नेछन् भने विकेटकिपरका रूपमा अभिज्ञान कुन्डुले उपकप्तानको जिम्मेवारी समेत सम्हाल्नेछन्।
टोलीमा १४ वर्षीय युवा प्रतिभा वैभव सूर्यवंशी पनि समावेश छन्। उनले यसअघि यु-१९ टोलीबाट खेलेका थिए र अष्ट्रेलियाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शतक प्रहार गरिसकेका छन्।
आयुष र वैभव दुवैले हालै सम्पन्न आईपीएलमा आक्रामक ब्याटिङ प्रदर्शन गरेका थिए। आयुष चेन्नईका लागि खेल्दा वैभव राजस्थानबाट मैदानमा उत्रिएका थिए। दुबैले आ-आफ्नो टिमलाई शानदार सुरुवात दिलाए पनि दुवै टिम प्लेअफको दौडबाट बाहिरिएका छन्।
भारत यु-१९ टोलीले सन् २०२५ को जुन २४ देखि जुलाई २३ सम्म इंग्ल्यान्ड भ्रमण गर्नेछ। भ्रमणको क्रममा एक ५० ओभरको अभ्यास खेल, पाँचवटा एकदिवसीय युवा अन्तर्राष्ट्रिय खेल (युथ वन-डे) र दुईवटा बहु-दिवसीय (मल्टि-डे) खेलहरू इंग्ल्यान्ड यु-१९ विरुद्ध खेलिने तालिका रहेको छ।
भारत यु-१९ टोलीमा चयन भएका खेलाडीहरू:
आयुष माथरे (कप्तान)
अभिज्ञान कुन्डु (उपकप्तान तथा विकेटकिपर)
वैभव सूर्यवंशी
विहान मल्होत्रा
मौल्यराजसिंह चावडा
राहुल कुमार
हर्वंश सिंह (विकेटकिपर)
आर. एस. अम्ब्रिश
कनिष्क चौहान
खिलन पटेल
हेनील पटेल
युधाजित गुहा
प्रणव राघवेन्द्र
मोहम्मद इनान
आदित्य राना
अनमोलजीत सिंह