७ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरका रूपमा प्रा. डा. विश्वनाथ पौडेलले औपचारिक रूपमा शपथ ग्रहण गरेका छन्।
बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई केन्द्रीय बैंकको १८औं गभर्नरमा नियुक्त गरेको थियो।
अहिलेको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने र बैंकिङ प्रणालीलाई जोखिममुक्त अवतरण गराउनु गभर्नर पौडेलको प्रमुख जिम्मेवारी हुनेछ। उनी आर्थिक इतिहास र विश्लेषणमा गहिरो पकड भएका एक अग्रणी युवा विज्ञको रूपमा चिनिन्छन्।
२०७९ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित भए पनि त्यसपछि पुनः शैक्षिक क्षेत्रमा फर्किएका थिए।
नेपाली कांग्रेसको कोटाबाट राष्ट्र बैंकको नेतृत्वमा ल्याइएका पौडेल यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको रूपमा पनि कार्यरत थिए। उनी सो पद त्याग गरी प्रतिनिधिसभा निर्वाचनमा होमिएका थिए।
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) मा आर्थिक सल्लाहकारको अनुभव बटुलेका पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा प्राध्यापन गर्दै आएका छन्।
उनले चीनबाट इन्जिनियरिङ अध्ययन सुरु गरे तापनि, अध्ययनकै क्रममा अर्थशास्त्रप्रति आकर्षण बढेपछि अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेबाट कृषि तथा स्रोत व्यवस्थापनमा विद्यावारिधि हासिल गरेका थिए।
प्राकृतिक स्रोत, श्रम बजार र आर्थिक इतिहासमा गहिरो जानकारी राख्ने पौडेल यसअघि सानिमा बैंकका सञ्चालक पनि थिए। साथै, एमसीसी नेपालको कार्यालयमा अर्थशास्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्षका सल्लाहकार, युलेन्स स्कुलका ट्रस्टी सदस्य लगायतका भूमिकामा समेत कार्य गरिसकेका छन्।
अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकारको रूपमा काम गरिसकेका उनले इसिमोड, कोलम्बो योजना परिषद्, र रिजनल इकोनोमिक कोअपरेसन एन्ड इन्टिग्रेसन (RECI) मा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।