सिन्धुली, ठुटे भञ्ज्याङमा एक टाटा सुमो दुर्घटनामा परेको छ। गाडी गैरिखानी–चकमेक–सिन्धुली मार्ग हुँदै गुडिरहेको थियो। बा.प. ०३–००१ नम्बरको उक्त टाटा सुमो तिनपाटन गाउँपालिका–०४ स्थित ठुटे भञ्ज्याङको बालजोरतर्फ जाने बाटो नजिक, एक ठूलो वरको रुख छेउमा दुर्घटनामा परेको हो।
प्राप्त जानकारीअनुसार, उक्त गाडी हिजो दिउँसो करिब १ बजेतिर प्राविधिक समस्या आएपछि रोकेर मर्मतका लागि मिस्त्री बोलाइएको थियो। मर्मतपश्चात राति करिब ११ बजे परीक्षण गरिँदै गर्दा मोड्न नसकिई गाडी ब्याक भएर सडकबाट तल झरेको बताइएको छ।
दुर्घटनाको समयमा सुमो गाडीमा चालकबाहेक अन्य कोही सवार थिएनन्। गाडी असन्तुलित हुँदै तल झर्दा चालकले सतर्कता अपनाउँदै गाडीबाट हाम फालेर आफ्नो ज्यान सुरक्षित राख्न सफल भएका छन्। गाडी भने केही क्षति भएको बताइएको छ।
स्थानीय बासिन्दाहरूले रातको समयमा यस्तो जोखिमपूर्ण परीक्षण गर्दा दुर्घटनाको सम्भावना उच्च हुने भन्दै सतर्कता अपनाउन सुझाव दिएका छन्।