×

बीसीए विद्यार्थीको गुनासो : समान कोर्स भए पनि संकाय फरक, सरकारी जागिरमा विभेद

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्गत सञ्चालित ‘ब्याचलर इन कम्प्युटर एप्लिकेसन्स्’ (बीसीए) कोर्समा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक वर्गीकरणका कारण सरकारी रोजगारीबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन्।

देशभरका क्याम्पसमा अध्ययनरत बीसीए विद्यार्थीहरूले संयुक्त रूपमा संघीय संसदमा ध्यानाकर्षण पत्र बुझाउँदै, त्रिभुवन विश्वविद्यालयले बीसीए कार्यक्रमलाई ‘मानविकी तथा सामाजिक शास्त्र संकाय’ अन्तर्गत राखेको निर्णयप्रति आपत्ति जनाएका हुन्। उनीहरूले अन्य विश्वविद्यालयजस्तै यो कोर्सलाई ‘विज्ञान तथा प्रविधि संकाय’ अन्तर्गत समावेश गर्न माग गरेका छन्।

पोखरा विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले सञ्चालन गर्ने बीसीए कार्यक्रम विज्ञान तथा प्रविधि संकायमा पर्दछ। तर, त्रिभुवन विश्वविद्यालयको बीसीए मानविकी संकायमा वर्गीकृत भएकाले सरकारी निकायहरूले सूचना प्रविधिसम्बन्धी विज्ञापनमा यसलाई अयोग्य मान्ने गरेका छन्।

रत्न राज्य लक्ष्मी क्याम्पसका विद्यार्थी विशाल पौडेलका अनुसार, “एकै प्रकारको सिलेबस, समान क्रेडिट आवर (१२६) भए पनि त्रिभुवन विश्वविद्यालयको बीसीएलाई अयोग्य ठहर गरिनु दुर्भाग्यपूर्ण हो।” उनको भनाइमा यो निर्णयले हजारौं विद्यार्थीको भविष्यमा अन्योलता ल्याएको छ।

सरकारी विज्ञापनहरूमा सामान्यतः ‘कम्प्युटर साइन्स/आईटी वा सो सरहको विषयमा स्नातक’ योग्यता तोकिएको हुन्छ। तर, संकायकै कारण बीसीए विद्यार्थीहरू आवेदन दिनबाट वञ्चित हुँदै आएका छन्।

विद्यार्थीहरूले संकायको नामका कारण रोजगारीका अवसर गुमाउनु अन्यायपूर्ण भएको बताउँदै यसले व्यावसायिक जीवनमा गम्भीर असर पारेको बताएका छन्। उनीहरूको भनाइमा यस्तो विभेदकै कारण धेरै विद्यार्थी विदेश पलायन हुने सोचमा पुगेका छन्।

विद्यार्थीहरूले राखेका चार प्रमुख माग:

  1. त्रिभुवन विश्वविद्यालयको बीसीए कार्यक्रमलाई विज्ञान तथा प्रविधि संकाय अन्तर्गत ल्याउनुपर्ने।

  2. सबै विश्वविद्यालयबाट बीसीए उत्तीर्ण गरेका स्नातकलाई समान व्यवहार गर्नुपर्ने।

  3. संकायको आधारमा नभई कोर्सको विषयवस्तु र प्रकृति अनुसार योग्यता मूल्यांकन गरिनुपर्ने।

  4. सूचना प्रविधिसम्बन्धी रोजगारीका अवसरहरूमा स्पष्ट, समावेशी र दीर्घकालीन शैक्षिक नीति लागू गर्नुपर्ने।

विद्यार्थीहरूले समयमै माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x