काभ्रे, पनौती —
काभ्रेको पनौतीमा आएको बाढीले बगाएर बेपत्ता भएकी एक महिलाको अवस्था अझै अज्ञात रहेको छ ।
सोमबार दिउँसोको अविरल वर्षासँगै आएको बाढीले पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेनुका गिरीलाई कुलो पार गर्ने क्रममा बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार, बेपत्ता रेनुकाको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको विपद् टोलीसहित स्थानीयवासी सक्रिय छन् ।
खोजी कार्य पनौती क्षेत्रका साथै बाढीले बगाएर पुग्ने सम्भावित स्थान सिन्धुलीसम्म फैलाइएको छ ।
त्यसैगरी, वर्षासँगै आएको बाढीले काभ्रेको रोशी गाउँपालिका स्थित माम्ती क्षेत्रमा बीपी राजमार्गको अस्थायी संरचना पनि बगाएको छ ।
२०७८ सालको बाढीपछि क्षतिग्रस्त पक्की सडकको ठाउँमा राखिएको ह्युमपाइपसमेत सोमबारको बाढीले बगाएपछि राजमार्ग दुवै तर्फबाट अवरुद्ध भएको हो ।
सडक पुनः सञ्चालनमा ल्याउन सडक विभागका चारवटा एक्स्काभेटर खटाइएको छ भने स्थानीय प्रशासनले बाटो खुलाउने प्रयास तीव्र बनाएको जनाएको छ ।