सुदूरपश्चिम क्षेत्रका मुख्य सीमा नाका—कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीबाट स्वदेश फर्किन खोज्ने नेपालीहरूमाथि भारतीय सुरक्षाकर्मीले दुर्व्यवहार गर्ने गरेको गुनासो तीव्र बन्दै गएको छ। भारतका विभिन्न भागमा रोजगारी गरेर घर फर्किँदै गरेका नेपालीहरूले सीमामा अपमानजनक व्यवहार, कडा जाँच र अनावश्यक असुविधा भोग्नुपरेको बताएका छन्।
गौरिफन्टा नाकाबाट आएका कैलाली निवासी बम थापाका अनुसार, भारतीय सुरक्षाकर्मीहरूले जाँचपछि कुनै न कुनै बहानामा पैसा माग्ने प्रवृत्ति बढ्दो छ। ‘सुरक्षाकर्मीहरूले पहिले झोलाझाम्ती हेर्छन्, अनि किन-किन भनेर रकम माग्छन्,’ उनले बताए, ‘हामीजस्ता दिनभर खटिएर कमाउने मजदुरको हातखाली घर फर्किने अवस्था छ।’
आफ्नै देश फर्कन खोज्दा यस्तो व्यवहार सहनु परेकोप्रति उनीहरू आक्रोशित छन्। नाकामा भेटिएका केही नेपालीहरूले नेपाल सरकारले भारतसँग कूटनीतिक पहल गरेर यो समस्याको समाधान खोज्नुपर्ने माग गरेका छन्। उनीहरूको भनाइमा, विदेशबाट फर्किने नेपालीले सम्मानका साथ घर प्रवेश गर्न पाउनु पर्छ, अपमान होइन।
भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण दुवै देशका सीमामा सुरक्षा कडाइ गरिएको देखिन्छ। तर सोही कडाइको नाममा नेपालीहरूलाई टार्गेट गर्दै आर्थिक शोषण गरिन थालेको गुनासो सुनिन थालेको छ।
यसैबीच, सशस्त्र प्रहरी बल नेपालले भारतसँग जोडिएका सुदूरपश्चिमका सीमाक्षेत्रहरूमा उच्च सतर्कता अपनाइएको जानकारी दिएको छ। नयाँ अनुहार वा शंकास्पद देखिने व्यक्तिहरूमाथि विशेष निगरानी राखिएको उल्लेख गरिएको छ।
सुदूरपश्चिम प्रदेश सरकार पनि सीमामा बढ्दो समस्यालाई लिएर सजग बनेको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायसँग समन्वय गरी सीमा व्यवस्थापन र सहज आवागमन सुनिश्चित गर्न आवश्यक निर्देशन दिएका छन्।