राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले जिरी नगरपालिकामा संगठन सवलिकरण तथा जागरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम जिरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्देश्य पार्टीको संगठनात्मक संरचना सुदृढ पार्नुका साथै स्थानीय जनसमुदायमा रास्वपाको नीति, विचारधारा र कार्यदिशाबारे जागरण फैलाउनु रहेको थियो। कार्यक्रममा रास्वपाका स्थानीय नेताहरु, कार्यकर्ताहरु तथा नवप्रवेशी सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो।
यस अभियानमा सहभागीहरुलाई पार्टीको भावी योजना, राष्ट्रिय समसामयिक राजनीति र रास्वपाको दृष्टिकोणबारे जानकारी दिइएको थियो। पार्टीका प्रतिनिधिहरूले देशमा राजनीतिक स्वच्छता, जवाफदेही शासन प्रणाली र नागरिकको अधिकारको सुनिश्चितताका लागि रास्वपाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए।
जिरी क्षेत्रको ऐतिहासिक, पर्यटन र व्यापारिक सम्भावनालाई ध्यानमा राख्दै पार्टीले यहाँ संगठन विस्तारमा विशेष प्राथमिकता दिने संकेतसमेत दिएको छ।
यस कार्यक्रमले दोलखा जिल्लामा रास्वपाको राजनीतिक सक्रियता र संगठन निर्माणको गतिलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।