२७ वैशाख, काठमाडौं ।
थाइल्याण्डमा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बहराइनसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।
तर वर्षा र भिजेको मैदानका कारण खेल ढिलो सुरु भएको छ र दुबै टोलीले अब ५–५ ओभर मात्र खेल्न पाउनेछन्।
यसअघि, शुक्रबारका लागि तय गरिएको हङकङविरुद्धको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो। टस समेत हुन नसकेपछि नेपाल र हङकङले १–१ अंक बाँडेका थिए।
नेपाल र बहराइनबीच अघिल्ला दुई खेलमा नेपाल विजयी रहँदै आएको छ। एक खेलमा बहराइनलाई १४ रनमा र अर्कोमा ३१ रनमा समेट्दै नेपालले सहज जित निकालेको थियो।
९ टोली सहभागी प्रतियोगिता समूह चरणमा तीन समूहमा विभाजित गरिएको छ। प्रत्येक समूहमा तीन टोली छन् र डबल राउण्ड रोबिन आधारमा खेल हुने व्यवस्था छ। प्रतियोगिताबाट शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोट चरणमा स्थान बनाउनेछन्।