सिद्धिचरण राजमार्गअन्तर्गत मिर्चैया–कटारी–बेतेनी–घुर्मी सडक निर्माणका लागि आवश्यक बजेट विनियोजनको माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापनपत्र बुझाइएको छ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको नेतृत्वमा पुगेको सर्वदलीय प्रतिनिधिमण्डलले बिहीबार मन्त्री दाहाललाई भेटेर सो सडक योजनालाई प्राथमिकतामा राखी बजेट छुट्याउन आग्रह गरेको हो।
ज्ञापनपत्रमा उक्त सडकलाई बहुवर्षीय योजनामा समावेश गरी निर्माण प्रक्रिया अघि बढाउन माग गरिएको छ। सभापति खतिवडाले सो सडक उदयपुर मात्रै नभई ओखलढुंगा, सोलु र खोटाङका बासिन्दाका लागि अत्यन्त महत्वपूर्ण भएको भन्दै बजेट सुनिश्चित गर्न जोड दिए।
उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक अर्ब चार करोड रुपैयाँ विनियोजन भइसके पनि प्रारम्भिक अध्ययन (IEE) नटुंगिएकाले टेन्डर प्रक्रिया अझै सुरु हुन सकेको छैन।
पूर्व कृषि मन्त्री तथा कोशी प्रदेश सदस्य रामकुमार खत्रीले चालु आर्थिक वर्षमा थप दुई अर्ब रुपैयाँ बजेट व्यवस्था गरी कुल तीन अर्बको आयोजना टेन्डर प्रक्रियामा लैजानुपर्ने धारणा राखे।
सर्वदलीय टोलीमा माओवादी वैकल्पिक केन्द्रीय सदस्य केपी बराल, नेपाली कांग्रेसका भक्त राना मगर, एमालेका सरोज थापा लगायत अन्य नेताहरूको सहभागिता रहेको थियो।