भारतले जम्मु-कश्मीरको पहलगाममा भएको भीषण आक्रमणको जवाफस्वरूप पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पिओके) क्षेत्रहरूमा लक्षित मिसाइल आक्रमण गरेको छ। भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको यो सैन्य कारबाहीमा आतङ्ककारी केन्द्रहरूलाई निशाना बनाइएको पुष्टि गरिएको छ।
भारतीय रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार, पाकिस्तान र पिओकेमा रहेका आतंकवादी संरचनाहरू, जहाँबाट भारतमाथि हमला योजनाबद्ध गरिएको थियो, ती स्थानहरूमा आधुनिक मिसाइल प्रणाली प्रयोग गरेर हमला गरिएको हो।
भारतीय सञ्चार माध्यम ‘द भाष्कर’ले जनाएअनुसार, भारतले मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा हमला गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सले पाकिस्तानको सीमा क्षेत्रमा व्यापक विस्फोट र तोप आक्रमणको रिपोर्ट दिएको छ।
२२ अप्रिलमा पहलगाममा पर्यटकबाहक बसमाथि भएको आतङ्ककारी आक्रमणपछि भारत–पाकिस्तान सम्बन्ध निकै तनावग्रस्त बनेको छ। उक्त हमलामा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो। भारतले पाकिस्तानमाथि आतङ्कवादी समूहलाई समर्थन गरेको र युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ।
युद्धविरामको उल्लंघन भन्दै भारतले दिएको जवाफस्वरूप पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले भने भारतको आक्रमणको कडा प्रतिक्रिया दिइने बताएका छन्। एक्स (पूर्व ट्विटर) मार्फत उनले लेखेका छन्, “भारतले पाँच स्थानमा ढुक्कसँग हमला गरेको छ। पाकिस्तान यस आक्रमणको कठोर जवाफ दिन सक्षम छ र दिइरहेको छ।”
पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले भने भारतले आतङ्ककारी केन्द्र भनि दाबी गरिएका क्षेत्रहरू वास्तवमा नागरिक बस्ती भएको बताएका छन्। उनले मिसाइल प्रहारले एक महिला र एक बालकको मृत्यु भएको र दुई मस्जिदहरू समेत क्षतिग्रस्त भएको दाबी गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई ती स्थानहरू अवलोकन गर्न आग्रह गरेका छन्।
बीबीसीसँग कुराकानी गर्दै मूजफ्फराबादका बासिन्दाहरूले हमला भएका क्षेत्रमा अत्यधिक डर र भगदडको अवस्था रहेको बताएका छन्। स्थानीयवासी मोहम्मद वहिदले रातको समयमा अचानक आएको विस्फोटले पूरा घर हल्लिएको र तीन थप विस्फोटले सम्पूर्ण इलाकामा त्रास फैलिएको बताएका छन्।
यो घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले गहिरो चिन्ता व्यक्त गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै भारतको यो कारबाहीलाई “लाजमर्दो” भनेका छन्। उनले तत्काल द्वन्द्व अन्त्य होस् भन्ने इच्छा व्यक्त गरे।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले दुवै पक्षलाई संयमता अपनाउन अनुरोध गरेका छन्। “दुनियाँले अर्को भारत-पाकिस्तान युद्धको जोखिम उठाउन सक्दैन,” प्रवक्ताले भने।
यो घटनाले दक्षिण एशियामा शान्तिका प्रयासहरूमा गम्भीर धक्का पुर्याएको देखिन्छ।