×

पूर्वमन्त्री तथा साहित्यकार प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन

खालीपाना न्युजडेस्क | १ हप्ता अगाडि

काठमाडौँ — पूर्व सूचना तथा सञ्चारमन्त्री एवं साहित्यकार प्रदीप नेपालको निधन भएको छ। राजधानीस्थित थापाथलीको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका नेपालले मंगलबार दिउँसो अन्तिम सास लिएका हुन्। अस्पताल स्रोतका अनुसार उनी ७१ वर्षका थिए।

केही दिनदेखि अस्पताल भर्ना भएका नेपाललाई स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार सघन उपचार कक्ष (आईसीयू) मा सारिएको थियो। चिकित्सकका अनुसार लामो समयदेखि पार्किन्सन्स रोगले ग्रसित उनी पछिल्लो समयमा निमोनियाबाट पनि प्रभावित भएका थिए।

वामपन्थी विचारधारामा आधारित राजनीतिमा सक्रिय नेपाल मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीको भूमिकामा रहेका थिए। पछिल्ला वर्षहरूमा भने उनी प्रत्यक्ष राजनीति भन्दा टाढा थिए।

राजनीतिक व्यक्तित्वसँगै उनी साहित्यिक जगत्मा पनि निकै परिचित थिए। साहित्य क्षेत्रमा ‘सञ्जय थापा’ नामले चिनिने उनले एक दर्जनभन्दा बढी उपन्यास र कृति प्रकाशित गरेका छन्। उनका चर्चित कृतिहरूमा ‘बर्बरिक’ (मदन भण्डारीको जीवनसँग जोडिएको उपन्यास), ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’, ‘बाघमारेको लालसलाम’, ‘देशको खोजी’, ‘पाइला छाडेर अस्ताएको घाम’, ‘आमाको मन’, ‘सञ्जय थापाका कथाहरू’, ‘जननी जन्मभूमिश्च’, ‘फेवाको सुस्केरा’, र ‘देउमाईको किनारमा’ लगायत उल्लेखनीय छन्।

उनको निधनले नेपाली राजनीति र साहित्य दुबै क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *