२२ वैशाख, काठमाडौं । ललितपुरको ग्वार्कोमा अवस्थित ईपीएस कोरिया शाखाबाहिर धर्नामा बसेका युवाहरूको तस्बिर खिच्ने क्रममा दुईजना फोटो पत्रकार प्रहरीको दुर्व्यवहारमा परेका छन्।
सोमबार दिउँसो ईपीएस शाखाअगाडि प्रदर्शन भइरहेका बेला अनलाइनखबरका फोटो पत्रकार आर्यन धिमाल र कान्तिपुर दैनिकका अंगद ढकालमाथि ललितपुर प्रहरीले धम्क्याएको हो।
दुवैले आफू पत्रकार भएको प्रमाण देखाए पनि प्रहरीले गाडीमा हाल्ने चेतावनीसमेत दिएको पीडित पत्रकारहरूको भनाइ छ। प्रदर्शनकारी हटाउने क्रममा प्रहरीले लाठी चार्ज गरेपछि त्यसको तस्बिर लिँदै गर्दा पत्रकारहरू लक्षित भएका थिए।
पत्रकार धिमालका अनुसार प्रहरीहरूले फोटो खिच्न नदिने अडान राख्दै नमाने पक्राउ गर्ने धम्कीसमेत दिएका थिए।
प्रहरी वृत्त सातदोबाटोका डीएसपी राम कुमार यादवले भने सुरुवातमा उनीहरू पत्रकार हुन् भन्ने नचिनिएको दाबी गरेका छन्। “म आफैं त्यहाँ थिएँ, उहाँहरूले सुरुमै कुनै समन्वय गर्नुभएन, परिचय पत्र पनि देखाउनुभएन,” उनले भने, “पछि प्रेस कार्ड देखाएपछि मात्रै हामीले पत्रकार भन्ने बुझेका हौं।”
उता, कोरिया जानका लागि भाषा परीक्षा पास गरी लामो समय पर्खंदा पनि प्रक्रिया अघि नबढेकाले दबाब दिन युवाहरू तीन दिनदेखि धर्नामा बसेका छन्। धर्नामा सहभागी निराजन सिंहका अनुसार, १८ महिना बितिसक्दा पनि सरकारको ढिलासुस्तीले गर्दा उनीहरू सडकमा उत्रन बाध्य भएका हुन्।