२२ वैशाख, भोजपुर । धरानबाट धनकुटातर्फ जाँदै गरेको १ ख २१७७ नम्बरको यात्रुबाहक बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ। सोमबार बिहान कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ स्थित घुम्तीमा बस अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा परी १४ जना यात्रु घाइते भएका छन्। तीमध्ये धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राईको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। अन्य तीन जनाको अवस्था गम्भीर छ भने बाँकीको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये भोजपुरका सूर्यमणि तामाङ, अनमोल तामाङ, सुनसरी बराहक्षेत्र–२ का कृष्ण राउत, धरान उपमहानगरपालिका–१३ का बस चालक रुद्र तामाङ, भोजपुर पौवादुङमा गाउँपालिका–३ का गङ्गाप्रसाद सापकोटा छन्।
त्यसैगरी, भोजपुर नगरपालिका–११ की सविना बराइली, देवी टविक, धनकुटाको साँगुरीगढी–६ का हंशबहादुर राई, भोजपुर षडानन्द–११ की कापुर्णमाया तामाङ, लिलाबहादुर श्रेष्ठ, साँगुरीगढी–६ की दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा–६ का धनकुमार विकसमेत घाइते भएका छन्।
स्थानीय प्रहरी र बासिन्दाको सहयोगमा घाइतेहरूको उद्दार गरी अस्पताल पुर्याइएको हो।