२१ वैशाख, काठमाडौं ।
नेकपा एमालेका सांसद तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले भैरहवा विमानस्थलको अध्ययन तथा अनुगमन उपसमितिबाट अलग हुने निर्णय गरेका छन्।
भट्टराईले आफू मन्त्री रहँदा सो विमानस्थलसँग सम्बन्धित जिम्मेवारीमा रहेको भन्दै त्यही विषयमा छानबिन गर्न उपयुक्त नहुने धारणा सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा राखे।
“हामीले पाएको TOR अनुसार प्रतिवेदन लगभग अन्तिम चरणमा पुगेको थियो,” उनले भने, “तर अब नयाँ संयोजकका नेतृत्वमा छलफल अघि बढोस् भन्नेमा म सहमत छु। मलाई त्यसमा कुनै आपत्ति छैन।”
सार्वजनिक लेखा समितिले गत असार १४ गते भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवस्थाबारे अध्ययन गर्न दुई उपसमिति गठन गरेको थियो।
पोखरा विमानस्थल सम्बन्धी उपसमितिको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गर्दै आएका छन् र सो उपसमितिले प्रतिवेदन पनि मूल समितिमा बुझाइसकेको छ।
तर, भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी उपसमितिको प्रतिवेदन अझै बाँकी छ।
हाल उपसमितिमा अमरेशकुमार सिंह, मनिष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी सदस्य छन्।
पूर्वमन्त्री भट्टराईले सम्भावित पक्षपातको प्रश्न उठ्न सक्ने भन्दै अब उक्त उपसमितिमा नरहने स्पष्ट पारेका हुन्।