×

समारोहमा पेस्तोल पड्काएर चर्चामा जसपा नेतृ डा. बबी सिंह, सर्लाहीबाट हतियार बरामद

खालीपाना न्युजडेस्क | २ हप्ता अगाडि

जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादव फेरि विवादमा तानिएकी छन्। सर्लाहीको मलंगवामा आयोजित एक हल्दी–मेहेन्दी कार्यक्रममा उनले पेस्तोल पड्काएको घटनाले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ।

सार्वजनिक भएको भिडिओमा नेतृ सिंह एक विवाह पूर्व कार्यक्रमको रमाइलो माहोलमा नाच्दै गर्दा एक राउन्ड हवाइ फायर गरेको देखिन्छ। धुवाँसहितको दृश्य भिडियोमा प्रस्ट देखिन सकिन्छ, जहाँ पेस्तोल चलाएपछि त्यो हतियार अर्को युवाले समातिरहेको देखिन्छ।

भिडिओ भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले डा. सिंहलाई बोलाएर प्रारम्भिक सोधपुछ गरेको थियो। सोधपुछको क्रममा उनले पेस्तोल मलंगवा नगरपालिका–५ को भाँड्चौर क्षेत्रमा पड्काएको स्वीकार गरेकी छन्। सोही आधारमा प्रहरीले मलंगवा नगरपालिका–२ निवासी अञ्जनी कुमारको घरमा खानतलासी गर्दा उक्त पेस्तोल फेला पारेको हो।

सर्लाहीका डीएसपी सरोज राईका अनुसार ११ वैशाखमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी-मेहेन्दी समारोहमा डा. सिंहले हवाइ फायरिङ गरेकी हुन्। कार्यक्रमको भोलिपल्ट अर्थात् १२ वैशाखमा कोमल सुप्रियाको भारतको सीतामढी निवासी एक युवासँग विवाह तय भएको थियो।

यद्यपि, घटना बाहिरिएपछि नेतृ सिंहले उक्त घटना भारतको सीतामढीमा भएको दाबी गर्दै फेसबुकमा स्टाटस लेखेकी थिइन्। उनले उक्त पेस्तोल ‘खेलौनाको’ भएको पनि बताएकी थिइन्। तर प्रहरी अनुसन्धानले घटनास्थल सर्लाहीकै रहेको पुष्टि गरिसकेको छ।

बरामद गरिएको पेस्तोल बारुद पड्किने किसिमको भए पनि गोली प्रहार गर्ने क्षमता नभएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। यस विषयमा थप अनुसन्धान जारी रहेको सर्लाही प्रहरीले जनाएको छ।

डा. बबी सिंह यादव सप्तरीको बोदेबरसाइन नगरपालिका–५ निवासी हुन्। उनी राष्ट्रिय सभा सदस्यसमेत रहेका जसपा नेपालका नेता मृगेन्द्र सिंह यादवकी छोरी हुन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *