अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमिकप्रति शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले श्रमिक वर्गको कठोर परिश्रम र समर्पणले देश विकासको दिशामा अघि बढिरहेको उल्लेख गरेका छन्।
श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको चर्चा गर्दै उनले प्रारम्भमा आलोचना र व्यङ्ग्य भोग्नुपरेको स्मरण गरे। तर अहिले त्यही योजनाबाट २० लाखभन्दा बढी श्रमिक लाभान्वित भइसकेको उल्लेख उनले गरेका छन्।
प्रधानमन्त्री ओलीले भनेका छन्– “आज श्रमिकको मात्र श्रम होइन, उनीहरूको भविष्य पनि सुरक्षित छ। बालबालिकाको उज्यालो भोलि र आमाबुबाको निश्चिन्त जीवन अब श्रमिकको घरमा सम्भव हुँदैछ।”
फेसबुकमार्फत आफूलाई पनि श्रमिककै रूपमा प्रस्तुत गरेका प्रधानमन्त्री ओलीले श्रम र श्रमिकको सम्मान अनिवार्य भएको धारणा राखे।
उनको सन्देशमा उल्लेख छ–
“श्रमिकको पसिना र समर्पणको बलमा राष्ट्र बाँचिरहेको छ। सामाजिक सुरक्षाको सपना आज मूर्त रुप लिँदैछ। अब श्रमिकको जीवन मात्र होइन, उनीहरूको भविष्य पनि उज्यालो बन्दै गएको छ। श्रमिकको सम्मान गर्नु हाम्रो कर्तव्य हो।”
प्रधानमन्त्री ओलीले अन्त्यमा ‘जय श्रमिक, जय देश’ भन्ने नारासहित श्रमिक दिवसको भावना प्रकट गरेका छन्।