नेकपा (एमाले) कोशी प्रदेशले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समृद्ध प्रदेश निर्माणका लागि आवश्यक माग र सुझावहरू प्रस्तुत गरेको छ। कोशी प्रदेशका १४ वटै जिल्लामा सञ्चालन हुँदै आएका मुख्य गौरवका आयोजनाहरूलाई प्राथमिकताका साथ बजेटमा समेट्नुपर्ने विषयमा पार्टीले केन्द्र सरकारसँग गम्भीर छलफल गरेको हो। सम्माननीय प्रधानमन्त्री, उप–प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग भेट गर्दै नेकपा (एमाले) कोशी प्रदेश कमिटीले विकास, पूर्वाधार, रोजगारी र समग्र प्रदेश उन्नतिका पक्षमा महत्वपूर्ण मागहरू राखेको छ। पार्टी स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज कमरेड शेरधन राई, पार्टी सचिव एवं सांसद योगेश भट्टराई, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश कमिटी पदाधिकारी, प्रतिनिधिसभा सांसद, जिल्ला इन्चार्ज र अध्यक्षसहितको टोली सहभागी रहेको उक्त भेटघाटमा समग्र प्रदेशको समृद्धिका लागि एकताबद्ध आवाज उठाइएको थियो। एमाले कोशी प्रदेशले उठाएका माग र सुझावहरू आगामी बजेटमा यथोचित रूपमा समावेश हुनेमा विश्वास गरिएको छ।