काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध दायर गरिएको अवहेलनासम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइ मंगलबार सर्वोच्च अदालतमा सम्पन्न भएको छ।
कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सो मुद्दामा प्रारम्भिक बहस गरिएको हो।
निवेदक पक्षबाट अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले पक्ष राख्दै बहस प्रस्तुत गरेका थिए। थापाविरुद्ध आइतबार सर्वोच्चमा अवहेलनाको मुद्दा दर्ता गरिएको थियो।
महामन्त्री थापाले गत बिहीबार संवैधानिक परिषद्का पदाधिकारीहरूको कार्यकाल सकिन लागे पनि ५२ वटा संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्चले फैसला नगरेको विषयमा सार्वजनिक टिप्पणी गरेका थिए। सोही टिप्पणीलाई लिएर उनीमाथि अदालतको अवहेलनाको आरोप लगाइएको हो।