काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भ्रष्टाचारसम्बन्धी अध्ययन प्रतिवेदन उपसमितिले लेखा समितिमा बुझाएको छ।
सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा बनेको उपसमितिले सोमबार लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई औपचारिक रूपमा प्रतिवेदन हस्तान्तरण गरेको हो।
स्थलगत निरीक्षण, अन्तरक्रिया, छलफल र कागजात विश्लेषणपछि तयार पारिएको ३८ पृष्ठ लामो प्रतिवेदनमा ६ वटा प्रमुख निष्कर्ष समेटिएको संयोजक लिङ्देनले जानकारी दिएका छन्।
उक्त उपसमितिमा सांसदहरू शशी श्रेष्ठ, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्यका रूपमा सहभागी छन्।