×

तीनकुने हिंसा: पत्रकार रजकको मृत्युपछि अनुसन्धान अल्झिएको, नकावधारी युवकको खोजी जारी

खालीपाना न्युजडेस्क | ३ हप्ता अगाडि

तीनकुनेमा पत्रकार सुरेश रजकको निधन भएको घरबाट निस्किएको नकावधारी युवकको अझै पनि पहिचान खुलेको छैन । करिब एक महिना बितिसक्दा पनि उनको परिचय सार्वजनिक हुन नसक्दा अनुसन्धानमा ढिलाइ भएको छ ।

१५ चैतमा भएको राजतन्त्र समर्थक प्रदर्शनका क्रममा तीनकुनेस्थित एक घरमा आगलागी हुँदा पत्रकार रजकको ज्यान गएको थियो । सोही घरबाट झर्दै गरेका एक युवकको भिडिओ सार्वजनिक भएको थियो । भिडिओमा अनुहार छोपेका, हातमा राष्ट्रिय झण्डा बाधेका एक अग्लो कदका युवक एक महिलाको पछि-पछि झर्दै गरेको देखिन्छ । ती महिला एनी कुँवर रहेको खुलेको छ र उनी हाल प्रहरी हिरासतमा छन् ।

प्रहरीका अनुसार कुँवरसँग सोधपुछ गर्दा उनले ती युवक को हुन् भन्ने जानकारी नदिएको बताइएको छ । पहिचान नखुलेका कारण उनी हालसम्म कानुनी दायरामा आउन सकेका छैनन् ।

उक्त घटनासँग सम्बन्धित आरोपमा रामेछापका सरोज गौतम (२२) र अछामका गोकर्ण शाही (२०) पक्राउ परेका छन् । उनीहरू ‘अनवरत तत्पर फौज (एटीएफ)’ का सदस्य भएको बताइएको छ । प्रहरीका अनुसार उनीहरूलाई हाल कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ ।

उनीहरूलाई प्रदर्शनका क्रममा सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवनमा आगो लगाएको आरोप छ । सोही घरबाट पत्रकार रजकले भिडिओ खिच्ने क्रममा ज्यान गुमाएका थिए ।

तीनकुने प्रदर्शनपछि हाल प्रहरी हिरासतमा ६४ जना रहेका छन् । हालसम्म ८५ जनाविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । तीमध्ये २१ जनालाई हाजिरी जमानीमा छाडिएको भए पनि उनीहरूमाथि मुद्दा दायर हुने प्रहरीले स्पष्ट पारेको छ ।

१५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन शान्तिपूर्ण रहन नसकी हिंसात्मक बनेको थियो । सो दिन कीर्तिपुरका सविन महर्जन प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए भने पत्रकार सुरेश रजक आगलागीमा परेर जलेर निधन भएका थिए । प्रदर्शनका क्रममा घर, पसल, सवारी साधनमा क्षति पुर्‍याइएको थियो र प्रहरीको हतियारसमेत लुटिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *