काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको पछिल्लो गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले सार्वजनिक भिडियो सन्देशमार्फत सरकार जिम्मेवार नभएको आरोप लगाउँदै, समस्या जटिल बन्नु अघि नै आवश्यक कदम चाल्न आग्रह गरेका छन्।
उनले पछिल्लो समय शिक्षकहरु सडकमा उत्रिएको, कर्मचारीहरु असन्तुष्ट मुद्रामा रहेको, र व्यवसायीहरुमा पनि अन्योल छाएको अवस्था उल्लेख गर्दै सरकार के गरिरहेको हो भनेर प्रश्न उठाए। “प्रधानमन्त्रीज्यू कार्यकर्ता भेला गर्दै रमाइला कुरा गर्दै हुनुहुन्छ, तर सरकार त्यसरी चल्दैन,” उनले भने।
झाका अनुसार, शिक्षकहरुको मागलाई संसदमार्फत उठाउन पार्टीको केन्द्रीय समितिले निर्देशन दिइसकेको छ र त्यसतर्फ तयारी भैरहेको छ। साथै, उनले अन्तर्राष्ट्रिय अभ्यासअनुसार कर नीतिबारे पुनःमूल्यांकन आवश्यक रहेको भन्दै उद्योगमन्त्री भने चुरोट र रक्सीको लाइसेन्स बिक्रीमा मात्र केन्द्रित रहेको आरोप लगाए।
गभर्नर नियुक्तिको विषयमा पनि सरकार दोधारमा परेको भन्दै उनले आलोचना गरे। “सम्बन्धित समितिले एक महिनासम्म कुनै बैठक पनि बोलाएको छैन, र नियुक्तिका लागि सत्ता साझेदार दलबीच सहमति जुट्न सकेको छैन,” उनले उल्लेख गरे।
उनले थपे, “सत्ता तपाईँहरूको होला, तर देश हामी सबैको हो। हामी पनि राज्यका अंग हौँ। त्यसैले यो विषयमा हाम्रो गम्भीर सरोकार छ। सबै पक्ष जिम्मेवार बन्नु आवश्यक छ।”
त्यस्तै, उनले हालै भारतको कश्मिरमा भएको आक्रमणमा परेर नेपाली नागरिक सुदीप न्यौपानेको मृत्युप्रति दुःख व्यक्त गर्दै नेपाल र भारतका दूतावास तथा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।