९ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल यही अप्रिल २५ तारिख, शुक्रबार नेपाल आउँदै छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार चैत १५ गते औपचारिक रूपमा नियुक्त गरिएका लले करिब एक महिनापछि नेपाल प्रवेश गर्न लागेका हुन् ।
हङकङमा सम्पन्न चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजको क्रममा पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।
५६ वर्षीय लको कार्यकाल यही अप्रिलदेखि सुरु भई आगामी दुई वर्षका लागि कायम हुनेछ । यसअघि मोन्टी देशाईसँगको सम्झौता गत जनवरीमा सकिएको थियो र त्यसपछिको रिक्त स्थानमा विभिन्न चरणका प्रक्रिया पूरा गरी ल नियुक्त भएका हुन् ।
लले श्रीलंका, बंगलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकासमेतको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रूपमा काम गरिसकेका छन् । उनी १९९६ को विश्वकपमा उपविजेता बनेको अष्ट्रेलियाली टोलीका सदस्यसमेत थिए ।
उनी नेपाली टोलीको प्रशिक्षक बन्ने दोस्रो अष्ट्रेलियन हुन् । यसअघि सन् २०२१ मा डेभ वाटमोरले पनि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका थिए ।