×

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिँदै पदबाट बाहिरिइन्, नयाँ मन्त्रीको खोजी सुरु

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

शिक्षकमाथि जारी आन्दोलन २० औं दिनमा पुग्दा शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएकी हुन्।

भट्टराईको राजीनामापछि नयाँ शिक्षामन्त्रीको नियुक्ति कसलाई दिने भन्ने विषयमा छलफल सुरु भएको छ। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, ‘नयाँ मन्त्री को बन्ने भन्नेबारे केही दिनमा टुंगो लाग्ला, निर्णय प्रधानमन्त्रीकै हुनेछ।’

बर्तौलाले भट्टराई पुनः मन्त्री बन्ने सम्भावना पनि खुला रहेको बताए। तर, नयाँ व्यक्ति आवश्यक परे केही समय लाग्न सक्ने उनले संकेत गरे। ‘एमालेकै तर्फबाट हुनेछ तर समयबारे निश्चित केही भन्न सकिन्न’, उनले थपे, ‘प्रधानमन्त्रीले आफूलाई सहज लाग्ने र सहकार्य गर्न सक्ने व्यक्तिलाई रोज्नु हुनेछ।’

नयाँ मन्त्रीका आकाङ्क्षीहरूमा पदम गिरीको नाम अगाडि आएको चर्चा छ।

प्रधानमन्त्री र सभामुखसँग असन्तुष्ट थिइन् भट्टराई

शिक्षकहरूको लगातार आन्दोलनलाई सम्बोधन गर्न सक्ने सहयोग नपाएको भन्दै मन्त्री भट्टराई असन्तुष्ट थिइन्। चैत २० गतेदेखि जारी आन्दोलनका क्रममा उनले प्रधानमन्त्री ओलीसँग आवश्यक समर्थन नपाएको महसुस गरेकी थिइन्।

हिमालय टेलिभिजनसँगको एक अन्तर्वार्तामा उनले आफ्नो असन्तुष्टि जनाउँदै राजीनामा दिनसक्ने संकेत दिएकी थिइन्।

भट्टराईले शिक्षकहरूको मागलाई अघि बढाउन सभामुख देवराज घिमिरेसँग पनि वार्ता गरेकी थिइन्। तर, सभामुखले चालु अधिवेशनमा ती मागहरू सम्बोधन गर्न नसकिने स्पष्ट पारेका थिए।

प्रधानमन्त्री ओलीले पनि शिक्षकहरूलाई आन्दोलन अन्त्य गर्न आग्रह गर्दै सबै माग पुरा गर्न नसकिने अडान दोहोर्‍याउँदै आएका थिए। यस्तो स्थितिमा दुवैपक्षको दबाब र अपेक्षाबीच रहेका भट्टराईले अन्ततः पदबाट अलग हुने निर्णय लिएकी हुन्।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x