८ वैशाख, काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले आन्दोलनरत शिक्षकहरूलाई गणतन्त्र विरोधी शक्ति सक्रिय हुनसक्ने भन्दै सचेत रहन सुझाव दिएका छन्।
संखुवासभामा आयोजित शिक्षकहरूसँगको अन्तरक्रियामा उनले आन्दोलनका जायज मागप्रति सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। साथै, आन्दोलनको अवस्थाबाट असमाजिक तत्वले फाइदा उठाउनसक्ने सम्भावनाप्रति पनि सचेत गराए।
“वार्ता र संवाद नै समस्याको समाधान हो,” मन्त्री खड्काले भने, “शिक्षकहरूको माग उचित छ, तर आन्दोलनको रूप लिँदा गलत समूहले त्यसको दुरुपयोग गर्न सक्छ भन्ने कुरा पनि गम्भीरतापूर्वक सोच्नुपर्छ।”
उनका अनुसार ऐन संशोधन जस्ता विषय कानुनी प्रक्रियामा पर्ने भएकाले केही समय लाग्न सक्छ। तर, सरकार विगतका सहमतिहरू कार्यान्वयन गर्न गम्भीर रहेको उनको भनाइ छ।
विद्यार्थीहरूको पठनपाठन अवरुद्ध नहोस् भन्ने सरकारको प्रमुख चिन्ता रहेको उल्लेख गर्दै उनले शिक्षकोंलाई आन्दोलन त्यागेर विद्यालय फर्कन आग्रह गरे।
“शिक्षक सधैं सम्मानित पात्र हुन् र रहनुपर्छ,” मन्त्रीले भने, “प्रधानमन्त्रीदेखि सबै तहका नेताहरू शिक्षकको भूमिकालाई उच्च सम्मान गर्छन्। सरकार तपाईंहरूको साथमा छ, त्यसैले विद्यालय फर्कनुस्।”
उनले शिक्षकहरूको ऐतिहासिक योगदानको प्रशंसा गर्दै गणतन्त्रको स्थापना प्रक्रियामा पनि शिक्षकमैत्री वातावरण रहँदै आएको स्मरण गराए।
हालको विश्वव्यापी आर्थिक चुनौतीको सन्दर्भमा उनले निरन्तर आन्दोलनले विकास कार्यमा बाधा पुग्न सक्ने चेतावनी पनि दिए।
“देशले माओवादी आन्दोलन, द्वन्द्व, भूकम्प, महामारीजस्ता कठिन समय भोगेको छ,” उनले भने, “अहिलेको आर्थिक सुधारको मोडमा शिक्षकको भूमिका अझै सकारात्मक हुनुपर्छ।”
कार्यक्रममा नेपाल शिक्षक महासंघ संखुवासभाका उपाध्यक्ष मोदमणि दाहाल, शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष तेजप्रसाद चौलागाईं, अर्जुनकुमार बस्नेतलगायतले सरकारलाई शिक्षकको मागमा गम्भीर बन्न आह्वान गरेका थिए