७ वैशाख, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले दिएको राजीनामालाई लिएर पार्टीका शीर्ष नेताहरू छलफलमा जुट्न लागेका छन्।
रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्यालका अनुसार सुमनासँग छिट्टै कुराकानी गर्ने तयारी भइरहेको छ। छलफलमा महामन्त्री कविन्द्र बुर्लाकोटी, उपसभापति स्वर्णिम वाग्ले र स्वयं अर्याल सहभागी हुनेछन्।
‘राजीनामा परेपछि सोधपुछ गर्ने प्रक्रिया हुन्छ, त्यसैअनुसार हामी छलफल गर्दैछौं’, अर्यालले बताए, ‘आज, भोलि वा उपयुक्त समयमा कुराकानी हुनेछ।’
श्रेष्ठले यही वैशाख ४ गते सहमहामन्त्री पदबाट राजीनामा दिएको कुरा सार्वजनिक भएको थियो। अब त्यो राजीनामा औपचारिक प्रक्रियामा लैजानुपर्ने आवश्यकता रहेको पनि अर्यालको भनाइ छ।
रास्वपाको विधानअनुसार कुनै पनि पदाधिकारीले पद छाड्न चाहेमा महामन्त्रीमार्फत सभापतिलाई जानकारी गराउनुपर्छ। त्यसपछि सभापतिले आवश्यक ठानेमा सचिवालय वा केन्द्रीय समितिमा विषय लैजान सक्ने प्रावधान रहेको उनले स्पष्ट पारे।
अर्यालका अनुसार सुमनाको राजीनामा औपचारिक रूपमा प्रक्रिया पूरा भइसकेको छैन। यद्यपि, राजीनामा सार्वजनिक भइसकेकाले यस विषयमा आन्तरिक छलफल आवश्यक भएको हो।