×

देशमा सुशासन नहुनुका पछाडि अस्थिर राजनीति जिम्मेवार : सभामुख घिमिरे

खालीपाना न्युजडेस्क | ४ हप्ता अगाडि

सभामुख देवराज घिमिरेले देशमा सुशासन स्थापना हुन नसक्नुको मुख्य कारण अस्थिर राजनीति भएको बताएका छन्। राष्ट्रिय राजधानीमा आज आयोजित ‘राष्ट्रिय सुशासन शिखर सम्मेलन २०२५’मा बोल्दै उनले देशको राजनीतिक नेतृत्व र जनप्रतिनिधिहरूले सुशासनप्रति इमान्दार प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए।

“राजनीतिक इमान्दारिता, जिम्मेवारी र जनताप्रतिको उत्तरदायित्वबिना सुशासन सम्भव छैन,” सभामुख घिमिरेले भने, “शासन प्रणाली परिवर्तन मात्रै काफी हुँदैन, जबसम्म नेतृत्वमा इच्छाशक्ति छैन।”

कार्यक्रममा बोल्दै संसदको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेताहरू राष्ट्र केन्द्रित सोचका साथ अघि बढ्नुपर्ने बताए। “नीतिलाई भन्दा नाता, दाता वा भ्रातालाई प्राथमिकता दिने प्रवृत्तिले सुशासन बिगार्दछ,” उनले कटाक्ष गरे।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरू जिम्मेवार नभएसम्म सुशासन केवल नारामा सीमित हुने चेतावनी दिए। “सरकार, संसद् र न्यायालयजस्ता अंगहरू बलियो भए मात्र सुशासनको व्यवहारिक कार्यान्वयन सम्भव हुन्छ,” पोखरेलले भने।

सम्मेलनमा नागरिक सहभागिता, सेवा प्रवाहमा सुधार, दिगो विकास र नीति निर्माणका विषयमा विश्लेषणात्मक छलफल भएको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *