राष्ट्र बैंकको १८औँ गभर्नर बन्ने प्रतिस्पर्धामा रहेका डा. भट्टले शुक्रबार कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छन्। स्रोतका अनुसार, उनले उच्च राजनीतिक तहबाट सकारात्मक संकेत पाएपछि गभर्नर नियुक्तिको प्रक्रिया सहज बनाउने उद्देश्यले राजीनामा बुझाएका हुन्।
राजीनामापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै डा. भट्टले भने, “गभर्नर नियुक्तिका लागि कार्यकारी निर्देशक पदबाट अलग हुनुपर्ने कानुनी प्रावधान भएकाले मैले आज राजीनामा दिएको हुँ। अबको प्रक्रिया हेर्न बाँकी छ।”
हाल कार्यरत कार्यकारी निर्देशकलाई सीधै गभर्नर बनाउने विषयमा कानुनी स्पष्टता नहुनु प्रमुख कारणमध्ये एक बनेको देखिन्छ। यद्यपि, उच्च राजनीतिक तहबाट समर्थन पाएको कुरासँगै उनले पदत्याग गरेका छन्।
अब चाँडै बस्ने मन्त्रिपरिषद् बैठकले डा. भट्टको नाम गभर्नरको रूपमा टुंग्याउने सम्भावना उच्च देखिएको छ।