राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिने तयारी गरेकी छन्। आज (बिहीबार) बस्ने केन्द्रीय समिति बैठकअघि उनले सचिवालयमार्फत् राजीनामा प्रस्ताव पेश गर्ने तयारीमा रहेको स्रोतको भनाइ छ।
श्रेष्ठले यसअघि पनि यही विषयमा कदम चाल्न खोजेकी थिइन्। रास्वपाका एक उच्च स्रोतका अनुसार उनले २०७९ चैत १७ गते नै राजीनामा दिने निर्णय गरेकी थिइन्, जुन दिन रवि लामिछाने पुनः पार्टी सभापतिमा फर्किएका थिए। तर त्यस समय ‘एक व्यक्ति, एक पद’ को सिद्धान्त कार्यान्वयन गर्ने प्रयास असमयिक ठहर गर्दै रोकिएको थियो। रविले त्यसबेला सुमनाको प्रस्ताव जायज भए पनि परिस्थितिजन्य कारणले त्यो समय उपयुक्त नभएको बताएका थिए।
तर अहिले लामिछाने सहकारी प्रकरणमा हिरासतमा रहेका बेला श्रेष्ठले पुनः राजीनामा दिने घोषणा गर्न लागेकी हुन्। उनले केही समयमै पार्टीको आन्तरिक संवाद समूहमा औपचारिक जानकारी गराउने तयारी गरेको बताइएको छ।
श्रेष्ठले आफूले यसअघि नै सहमहामन्त्री पद छोड्ने प्रस्ताव राखेको कुरा पुष्टि गरेकी छन्। तर यसबारे विस्तृत धारणा भने पार्टीभित्रै प्रस्तुत गर्ने उनको भनाइ छ।