आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले यूएईलाई २०१ रनको लक्ष्य दिएको छ। वर्षाले प्रभावित खेल ४० ओभरमा सिमित गरिएपछि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २०० रन बनायो।
कप्तान नरेन भट्टले जिम्मेवारीपूर्ण पारी खेलेर टिमलाई सम्मानजनक स्कोरमा पुर्याउन मुख्य भूमिका निर्वाह गरे। उनले ७५ बलमा ७ चौकाको मद्दतले ६७ रन जोडे। ओपनर साहिल पटेलले ३२ रन जोड्दा, दिलसाद अलीले ३४ रनको योगदान दिए।
यूएईका उदिस सुरीले प्रभावशाली बलिङ गर्दै ८ ओभरमा २६ रन खर्चिएर ३ विकेट हात पारे। युग शर्मा र शालोम डिसुजाले २–२ विकेट लिए भने अलीअस्घर शुम्स र करण धिमानले १–१ विकेट लिए।
यसै प्रतियोगिताअन्तर्गत आजै मुलपानीमा सम्पन्न अर्को खेलमा अफगानिस्तानले ओमानलाई हराउँदै विजयी सुरुआत गरिसकेको छ।