२०८१ चैत ३०, शनिबार | पूर्वी नवलपरासी
वर्षाका कारण विनयी खोलामा बाढी: डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा शनिबार बिहान आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी मधु नेपालका अनुसार अविरल वर्षासँगै खोलामा पानीको बहाव बढ्दा डाइभर्सन बगाएको हो।
डाइभर्सन बगाएसँगै नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध बनेको छ भने अत्यावश्यकबाहेकका सवारी साधनलाई खोलाको किनारमै रोकिएको प्रहरीले जनाएको छ।
डिएसपी नेपालका अनुसार अत्यावश्यक सवारी साधनलाई होङ्सी सिमेन्ट उद्योग हुँदै दुम्किबास मार्ग प्रयोग गरेर गन्तव्यतर्फ पठाइएको छ। तर, अझैपनि माथिल्लो क्षेत्रको वर्षा नरोकेको र खोला बढ्दो क्रममा रहेकाले तत्काल नयाँ डाइभर्सन बनाउन सकिने अवस्था नरहेको जानकारी उनले दिए।
उक्त स्थानमा यसअघि बनेको पुल २०८० पुस महिनामा भारतीय ट्रकको ठक्करले भाँचिएको थियो। त्यसयता डाइभर्सन बनाएर सवारी सञ्चालन हुँदै आएको थियो। तर शनिबारको बाढीले डाइभर्सनमा प्रयोग गरिएका तीनवटा ह्युमपाइपसमेत बगाएको डिएसपी नेपालले जानकारी दिए।
“पानीको बहाव घट्नेबित्तिकै नयाँ डाइभर्सन बनाउन थालिनेछ,” उनले भने, “सवारी सञ्चालनलाई शीघ्र सामान्य बनाउने प्रयास भइरहेको छ।”