×

दुर्गा प्रसाईंमाथि तीन फरक मुद्दामा प्रहरीको अनुसन्धान सुरु, थप कसुर थपिने संकेत

खालीपाना न्युजडेस्क | २ हप्ता अगाडि

व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले प्रारम्भिक चरणमा तीन फरक मुद्दाका आधारमा अनुसन्धान अघि बढाएको छ । काठमाडौं प्रहरी परिसरको कसुर दर्ता किताबमा हाल उनीमाथि तीनवटा मुद्दा दर्ता भइसकेका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची–७ को व्यवस्था अनुसार प्रहरीले अदालतबाट अनुसन्धानको लागि म्याद लिएर कानुनी प्रक्रिया अघि बढाउने हो, जसअनुसार हाल अनुसन्धान औपचारिक रूपमा सुरु गरिएको हो ।

काठमाडौंका एसएसपी विश्वराज अधिकारीका अनुसार प्रसाईंमाथि प्रारम्भिक रूपमा राज्यविरुद्धको अपराध, संगठित आपराधिक गतिविधि र ज्यान मार्ने प्रयास जस्ता कसुरहरूमा अनुसन्धान भइरहेको छ । उनले भने, “जाँचको क्रममा थप नयाँ मुद्दाहरू पनि उनीविरुद्ध लाग्न सक्छन् ।”

फौजदारी कार्यविधि अनुसार सरकार आफैँ मुद्दाको पक्षकार भएर अदालतमा मुद्दा दायर गर्नु अघि प्रहरीको कसुर दर्ता किताबमा मुद्दा लेखिएर अनुसन्धान अघि बढाइन्छ । यसै अनुसार चैत १५ मा भएको एक घटनाका आधारमा प्रहरीलाई किच्न खोजेको आरोपमा ‘ज्यान मार्ने उद्योग’ सम्बन्धी मुद्दा सुरु गरिएको हो । उक्त दिन प्रसाईंले चलाएको गाडीले प्रहरीलाई किच्न खोजेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको थियो ।

प्रहरी प्रधान कार्यालयका अनुसार दुर्गा प्रसाईं र उनका निजी सुरक्षागार्डलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिइएको हो भने अर्का प्रहरी स्रोतका अनुसार उनीहरूलाई भारतको आसामबाट पक्राउ गरी नेपाल ल्याइएको दाबी गरिएको छ ।

चैत १५ को दिन ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ अन्तर्गत आयोजित विरोध प्रदर्शनमा दुई व्यक्तिको मृत्यु भएको थियो । सो आन्दोलनमा पूर्वराजाको समर्थनमा ‘संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी पनि सहभागी थिए, जसलाई हाल गौरीघाटस्थित निवासमा नजरबन्दमा राखिएको जनाइएको छ । साथै, प्रदर्शनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउने घटनाहरू पनि भएका थिए, जसको अनुसन्धान समेत अगाडि बढाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *