२९ चैत, काठमाडौं — विश्व फुटबलका प्रतिष्ठित खेलाडीमध्ये एक, ब्राजिलका पूर्व लेफ्ट-ब्याक रोबर्टो कार्लोस, आगामी २०८२ सालको वैशाख ५ गते नेपाल आउन लागेका छन्। उनी नेपालमा जारी नेपाल सुपर लिग (NSL) को विशेष अतिथिको रूपमा आमन्त्रित भएका हुन्।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (NSM) ले बिहीबार साँझ सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, कार्लोस वैशाख ५ (अप्रिल १८) मा काठमाडौं आइपुग्नेछन्। यस भ्रमणका क्रममा उनले लिगका विशेष कार्यक्रमहरूमा सहभागी हुनेछन्।
दशरथ रंगशालामा वैशाख ६ गते (अप्रिल १९) आयोजना हुने एनएसएलको पहिलो क्वालिफायर खेलमा रोबर्टो कार्लोस विशिष्ट पाहुनाका रूपमा उपस्थित रहने जानकारी दिइएको छ।
रोबर्टो कार्लोस विश्व फुटबलमा अत्यन्तै चर्चित नाम हो। उनले सन् २००२ मा ब्राजिल राष्ट्रिय टिमसँगै फिफा विश्वकप जितेका थिए। क्लब स्तरमा उनले आफ्नो करियरको ठूलो हिस्सा रियल मड्रिडमा बिताएका थिए, जहाँ उनले युरोपेली फुटबलमा विशेष स्थान बनाएका थिए।
नेपालमा हुने दुई दिने भ्रमणका क्रममा, कार्लोसले विभिन्न सांस्कृतिक तथा फुटबलसम्बन्धी कार्यक्रमहरूमा समेत भाग लिनेछन्। आयोजक संस्थाका अनुसार, यो अवसर नेपाली फुटबलप्रेमीहरूका लागि एउटा अद्वितीय अनुभव बन्नेछ, जसले खेलाडी, समर्थक र युवा पुस्तालाई प्रेरणा दिनेछ।
NSM का प्रबन्ध निर्देशक श्रेयन्स कार्कीका अनुसार, “विश्व फुटबलमा कीर्तिमान बनाएका खेलाडीलाई नेपालमा स्वागत गर्न पाउनु हाम्रो गौरवको विषय हो। उहाँको आगमनले लिगको प्रतिष्ठा बढाउनुका साथै नेपाली फुटबल समुदायलाई उत्साहित बनाउनेछ।”
आयोजक संस्थाले रोबर्टो कार्लोसको आगमनलाई नेपाल सुपर लिगको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो उपस्थिति र नेपाली फुटबलको विकासमा गरिएको प्रतिबद्धताको प्रमाणको रूपमा हेरेको छ।