×

महानगरमा अनुशासनहिन कार्य: स्थानीय पेसागत संगठनद्वारा तीन दिनभित्र छानबिन समिति गठनको माग

खालीपाना न्युजडेस्क | २ हप्ता अगाडि

काठमाडौँ महानगरपालिकामा चैत २१ गते घटेको अनुशासनहिन र अमर्यादित घटनाप्रति स्थानीय तहमा क्रियाशील पेसागत सङ्गठनहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले उक्त घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा भएको उक्त कार्यलाई गैरकानुनी, अनपेक्षित र कार्यालयको मर्यादा विपरीतको भन्दै छानबिनका लागि तीन दिनभित्र अधिकार सम्पन्न समिति गठन गर्न माग गरिएको छ।

स्थानीय तह कर्मचारी युनियन नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघले संयुक्त रूपमा काठमाडौँ महानगर प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा प्रमुख प्रशासकीय अधिकृतको कार्यालय प्रवेशमा गरिएको अवरोध, धरपकड र महानगर प्रहरी प्रमुखद्वारा व्यक्त आपत्तिजनक अभिव्यक्तिलाई गम्भीर आरोपको रूपमा उठाइएको छ। उनीहरूका अनुसार, यस्तो कार्य न केवल भर्त्सनीय हो, तर कानुनी रूपमा पनि दण्डनीय छ।

त्यस्तै, प्रमुख बालेन शाहका स्वकीय सचिवको नाममा सञ्चारमाध्यम प्रयोग गरी उपप्रमुख, वडाध्यक्षजस्ता जनप्रतिनिधिमाथि गरिएका लाञ्छनात्मक टिप्पणीको पनि अनुसन्धान गरी कारबाही हुनुपर्ने माग गरिएको छ।

महानगर प्रशासन विगत तीन महिनादेखि नेतृत्वविहीन हुँदा सेवा प्रवाह अवरुद्ध भएको र सफाइकर्मी, शिक्षक, अन्य कर्मचारीहरूले महिनौँदेखि पारिश्रमिक नपाएको गुनासो उनीहरूले गरेका छन्। यस्तो संवेदनशील अवस्थामा कार्यालय सञ्चालन गर्न आएका प्रमुख प्रशासकीय अधिकृतलाई अवरोध गर्नु झनै आपत्तिजनक भएको उनीहरूको तर्क छ।

साथै, वडाध्यक्षहरूको बैठकका केही भिडियो क्लिपहरूलाई तोडमोड गरी प्रचार गरिएको र सीसी क्यामेराको दुरुपयोग भएको शङ्कासमेत गरिएको छ। घटनाका सबै पक्षको छानबिन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *