उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको छ ।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पौडेलले चालू आर्थिक बर्षमा बिना अध्ययनका करिव ११ हजार योजनामा बजेट लोड गरिएका कारण कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको हो । यसअघि ७ हजार आयोजना रहेकोमा ११ हजार योजना थप गरि १८ हजार आयोजना रहेको र त्यसलाई अघि बढाउन समेत समस्या भएको उहाले बताउनुभयो ।
पौडेलले सिमित स्रोतको अत्याधीक सदूपयोगमा सरकारले ध्यान दिएको भन्दै आगामी आर्थिक बर्षको बजेट निर्माणमा पनि सिमित स्रोतलाई ध्यान दिइने उल्लेख गर्नुभयो । उहाले क्यालेन्डर बनाएर आगामी आर्थिक बर्षको बजेट निर्माणको काम भइरहेको र बजेट लेखन टोलीले काम सुरु गरिसकेको जानकारी दिनुभयो । संविधानमा उल्लेख अधिकारको सुनिश्चितताको सीमाभित्र रहेर बजेट निर्माणका गर्ने सोचका साथ गृहकार्य भइरहेको उहाको भनाइ छ । त्यस्तै अर्थमन्त्री पौडेलले वर्तमान सरकार गठन हुनुभन्दा पहिलेका सरकारका कामकारवाहीका कारण मुलुक ग्रे लिष्टमा पुगेको भन्दै यसबाट निस्कने सम्दर्भमा समयवद्ध कार्यतालिका बनाएर अघि बढिरहेको जानकारी दिनुभयो ।
उहाले ग्रे लिष्टबाट बाहिर निस्कन दुई बर्षको समय रहेपनि त्यसभन्दा अघि नै बाहिर निस्कने गरि सरकार अघि बढेको जिकिर गर्नुभयो । पौडेलले सुशासन बिना समृद्धि सम्भव छैन भन्ने सोचका साथ मन्त्रालयले आफ्नो काम अघि बढाइरहेको जानकारी दिनुभयो ।