२८ चैत, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उत्कृष्ट अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
उनले टी–२० अन्तर्राष्ट्रियमा डक (शून्य रनमा आउट) नहुने सबैभन्दा लामो इनिङ खेलेर कीर्तिमान बनाएका हुन्। ऐरीले हालसम्म खेलेका ६६ अन्तर्राष्ट्रिय टी–२० खेलमा एक पटक पनि डक भएका छैनन्, जुन विश्व कीर्तिमान हो।
यसअघि यो कीर्तिमान वेस्ट इन्डिजका मार्लन सामुयल्सको नाममा थियो, जसले ६५ खेलमा डक नभई खेलेका थिए। अब त्यो कीर्तिमान ऐरीले तोडेका छन्।
बिहीबार सम्पन्न कुवेतविरुद्धको खेलमा दिपेन्द्रले १२ बलमा विस्फोटक ३१ रन बनाउँदै नेपालको जितको आधार तयार गरेका थिए।
दिपेन्द्रको कीर्तिमान यति मात्रमा सीमित छैन। उनले यसअघि सिर्फ ९ बलमा अर्धशतक बनाउने कीर्तिमान समेत बनाइसकेका छन्, जुन किर्तिमान तोड्न नसकिने, केवल बराबरी गर्न सकिने हो।
त्यस्तै, उनी टी–२० मा एउटै ओभरको ६ बलमा ६ छक्का प्रहार गर्ने दुर्लभ खेलाडीमध्ये एक हुन्।
दिपेन्द्रको निरन्तर सुधार, दमदार प्रदर्शन र अनुशासित ब्याटिङले उनलाई विश्व क्रिकेटमा अलग्गै परिचय दिलाइरहेको छ।