काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यालय पुगेर हाजिर गर्नुभएको छ । बिहीबार तनावकाबीच प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले महानगर पुगेर हाजिर गर्नुभएको हो । कार्यालय प्रवेशका क्रममा भने महानगर प्रहरीले अवरोध सिर्जना गरेको थियो । गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास भएपछि उपप्रमुख सुनिता डंगोल, बिभिन्न वडाका वडाध्यक्षका साथै कर्मचारीहरुले कार्यकक्षमा पुराएका थिए । कार्यकक्ष पुग्दा ताला नखोले पछि ढोका फोडेर गुरागाईँलाई हाजिर गराएको थियो । हाजिर गरेपछि सवैलाई धन्यवाद दिदै गुरागाईँ फर्कनुभएको थियो । महानगरका प्रवक्ता नवीन मानन्धरले पुष ८ गतदेखि प्रमुख प्रशासकीयबिहीन भएको अवस्था बिहीबार आएर अन्त्य भएको बताउनुभयो । उहाले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले हाजिर गरेसंग आगामी दिनमा सहज रुपमा सेवा प्रदान हुने र कर्मचारीका समस्या समेत समाधान हुने उल्लेख गर्नुभयो । काठमाडौंको भ्यु टावर निर्माणका बिषयमा गुरागाईँलाई महानगरले निलम्वन गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन आग्रह गरेपछि उहा बिहीबार महानगर पुग्नुभएको हो ।