×

बर्दिया राष्ट्रिय निकुञ्ज र बाघको आक्रमण

खालीपाना न्युजडेस्क | ४ हप्ता अगाडि

७ माघ, बर्दिया ।बर्दिया राष्ट्रिय निकुञ्ज नेपालमा बाघ संरक्षणको सफलताका लागि चर्चित छ। यहाँका हरिया जंगल र जैविक विविधताले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा उच्च स्थानमा पुर्‍याएको छ। तर पछिल्लो समय यो निकुञ्ज मानव र वन्यजन्तुबीचको संघर्षको केन्द्रविन्दु बन्न पुगेको छ । माघ २८ गते ठाकुरबाबा नगरपालिका–७ की ५० वर्षीया पदमकला थापाको बाघको आक्रमणमा मृत्यु भएको घटनाले यस क्षेत्रका बासिन्दामा त्रास र असन्तोष थपेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको बढ्दो जनसंख्या र मानिसहरूको निकुञ्ज नजिकको बासस्थानले यस्तो द्वन्द्व निरन्तर रुपमा हुने गरेका छन । मानिसहरू घाँस काट्न, दाउरा संकलन गर्न, वा पशु चराउन जंगलको नजिक पुग्दा बाघ आक्रमणको शिकार बन्ने गरेका छन । उमेश पौडेलले २०२४ मा गरेको अनुसन्धानका अनुसार ९७% घटनाहरू जंगलको किनार बाट एक किलोमिटर भित्रमा हुने गर्छन । यसले देखाउँछ कि बाघ संरक्षण र मानव सुरक्षाबीचको सन्तुलन खोज्नु आवश्यक छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १२ मा बन्यजन्तु संरक्षण सम्बन्धि नीति पुनः विचार गर्नुपर्नेमा जोड दिएका थिए । नेपालले अन्तर्राष्ट्रिय लक्ष्यभन्दा छिट्टै आफ्नो बाघ संख्या दोब्बर गरिसकेको छ र अहिले ३५० भन्दा बढी बाघ छन । तर यो संख्या हाम्रा जंगलहरूको क्षमताभन्दा बढी हो । प्रधानमन्त्रीको दृष्टिकोणमा संरक्षण अन्तर्राष्ट्रिय जिम्मेवारी पनि हो । नेपालले आफ्नो भूभागको ४७% जंगलमा आवासीय वन्यजन्तुका लागि छुटयाएको छ । यसले नेपाललाई विश्वकै अग्रणी संरक्षण राष्ट्रहरूको सूचीमा राखेको छ । प्रधानमन्त्री ओलीका अनुसार धनी राष्ट्रहरूले बाघ संख्या अझै बढाउन सुझाव दिन्छन तर नेपालले गरेको त्यागलाई नजरअन्दाज गर्छन ।

पर्यावरणविदका दृष्टिकोणमा भने बाघ संरक्षणको महत्व र यसको पारिस्थितिक प्रणालीमा बिशेष भुमिका रहेको हुन्छ । बाघ संरक्षण जैविक विविधताको प्रतीक हो र यसको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने हुन्छ । तर संरक्षणको नाममा स्थानीय बासिन्दाहरूको सुरक्षा र जीविकोपार्जनलाई नजरअन्दाज गर्न मिल्दैन । बाघ संरक्षण र मानव सुरक्षाबीचको सन्तुलन खोज्नु आवश्यक छ । समाधानको रूपमा अनुसन्धानकर्ताहरूले बाघबाट सुरक्षित तारजालीको विस्तार, शिकार व्यवस्थापन, र सचेतना कार्यक्रमहरू प्रस्ताव गरेको पाइन्छ ।

मानव–बाघ द्वन्द्वको दीर्घकालीन समाधान खोज्न दुई दृष्टिकोणबीच सहमति हुन जरुरी छ । पर्यावरणविदले बाघ संरक्षणलाई दीर्घकालीन पारिस्थितिकीय लाभका रूपमा हेर्छन् भने राजनीतिक नेतृत्व मानव सुरक्षालाई प्राथमिकतामा राखेर व्यावहारिक नीतिहरू अपनाउन सुझाव दिएका छन । यो सन्तुलन कायम राख्नका लागि वैज्ञानिक अनुसन्धान र व्यवहारिक नीति एकै ठाउँमा ल्याउन आवश्यक छ।
संरक्षणका प्रयास र मानव सुरक्षाबीचको यो सन्तुलनले नेपाललाई न केवल जैविक विविधताको संरक्षकको रूपमा स्थापित गर्नेछ साथै यसले स्थानीय समुदायहरूको हित पनि सुनिश्चित गर्नेछ। चुनौतीलाई अवसरमा बदल्ने यो समय हो जसले मानव र वन्यजन्तुबीचको सन्तुलनलाई स्थायी बनाउन सक्दछ । बर्दियामा भएको यी घटनाहरूले संरक्षण नीतिहरू पुनर्विचार गर्न घचघचाएको छ जसले वन्यजन्तु र जनताको सहअस्तित्वलाई सुनिश्चित गर्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *