×

जलवायु परिवर्तनका चुनौती समाधानमा एकजुट भएर लाग्नुपर्छ : प्रधानमन्त्री ओली

खालीपाना न्युजडेस्क | ३ महिना अगाडि

पुस,११ काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका चुनौतीको समाधानमा एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

वन तथा वातावरण मन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको २९ औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हावा र प्रकृतिलाई स्वच्छ राख्न अरु विषयमा बेमेल भइरहेका सवै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो लाग्न नदिन वन मन्त्रालय र सञ्चार मन्त्रालयले जागरण फैलाउनुपर्ने तथा मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाललाई जलवायु क्षतिपूर्ति दिइनुपर्छ भन्ने कुरा आफूले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा पनि राखेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले यस धर्तीको वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले कोप २९ को समीक्षासहित अहिलेदेखि नै कोप ३० को तयारी थाल्न पनि आग्रह गर्नुभयो ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका असरहरु हिमाली क्षेत्रमा धेरै देखिएको भन्दै यसमा सजक हुन नसके आगामी पुस्तालाई निकै असर पर्ने बताउनुभयो । जलवायु परिवर्तनका असरको बारे विश्वसमूदायलाई राम्रोसंग जानकारी गराएपनि नेपालमा पनि यसबारे जनचेतना आवश्यक रहेको उहाको भनाइ छ ।

त्यस्तै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्याय कायम गर्न आन्तरिक क्षमता बृद्धिका साथै अध्ययन अनुसन्धानलाई पनि प्रभावकारी ढंगले अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

जलवायु सम्मेलनको निष्कर्षलाई जलवायु हितका रुपमा प्रयोग गरिने र त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न मन्त्रालय तयार रहेको उहाले बताउनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *