पुस,११ काठमाडौँ। नेकपा एमालेले पार्टीभित्र नेतृत्वमाथि प्रश्न उठाउने र फरक मत राख्ने नेताहरूमाथि “अनुशासनको छडि” लगाएको छ। पुर्व राष्ट्रपति विद्या भण्डारी सकृय राजनीति मा फर्कने चर्चाको विषयमा नेताहरु विच ओैपचारिक छलफल जारी रहेका बेला नेतृत्वमाथि प्रश्न उठाउने माथि कारबाही गरिएको हो। पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यताबाट निष्कासन गरेको छ भने स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गरेको छ।
भीम रावलले पार्टी नेतृत्व र निर्णयमाथि लगातार सार्वजनिक आलोचना गरेको आरोपमा कारबाही गरेका हो। पार्टीको निर्णय अनुसार जिम्मेवारी नलिएको र सार्वजनिक अभिव्यक्तिबाट पार्टीलाई कमजोर बनाएको भन्दै सचिवालयले उनलाई निष्कासन गरेको हो।
पाण्डे र तिमिल्सिनाले पार्टी भवन निर्माणका लागि मीनबहादुर गुरुङबाट लिइएको झन्डै एक अर्बको जग्गा दानको विषयमा सार्वजनिक टिप्पणी गरेका थिए। पार्टी निर्णयविरुद्ध बोलेको र कमजोरी स्वीकार नगरेको भन्दै उनीहरूलाई निलम्बन गरिएको हो।
कारबाहीपछि रावलले यसलाई अध्यक्ष केपी शर्मा ओलीको “निरंकुश शैली” को परिणाम भनेका छन्। पाण्डेले यो कदमले पार्टीलाई दीर्घकालीन रूपमा फाइदा या क्षति कस्तो गर्छ, समयले बताउने बताइन्। तिमिल्सिनाले निर्णयलाई “पञ्चायती शैली” को संज्ञा दिँदै नेतृत्वप्रति असन्तोष व्यक्त गरिन्।
राजनीतिक विश्लेषकहरूले एमालेभित्र आन्तरिक लोकतन्त्र हराउँदै गएको र यो निर्णयले पार्टीको एकता र दीर्घकालीन सुदृढतामा नकारात्मक प्रभाव पार्न सक्ने बताएका छन्।