पुस,९ काठमाडौँ। पहिलो संस्करणको झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले हात पारेको छ ।
बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा सोमबार भएको खेलमा एनआरटी क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले हात पारेको हो । खेलको २१ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । चर्च ब्वाइजका समिर तामाङले एनआरटीका डिफेण्डरको मिसपासलाई सदुपयोग गर्दै गोल गर्न सफल भए ।
४३ औं मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । रोहन कार्कीले डि बक्समा मिलाइदिएको पासलाई डि बक्समा अनमार्क रहेका बिदेशी खेलाडी अर्माण्डले गोल गरे ।
त्यसको लगत्तै एनआरटीले १ गोल फर्कायो । बिदेशी खेलाडी कार्लोसले दिएको क्रस पासमा कप्तानसमेत रहेका अञ्जन बिष्टले गोल गरेका थिए । खेलको अतिरिक्त समयमा समिर तामाङको पासमा अर्माण्डले गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित पारे ।
प्रतियोगीताको प्लेयर अफ द म्याच बिजेता टिम चर्च ब्वाइजका समिर तामाङ भए । उनले नगद १० हजार रुपैंयाँ पुरस्कार पाए ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन बिष्ट, झापा ट्यालेन्टका रुपमा छनौट भएका झापा-११ का प्रदीप बुढाथोकीले जनही ३५ हजार रुपैंयाँ पुरस्कार पाए । मष्ट भ्यालुएबल प्लेयर चर्च ब्वाइजका रोह कार्की भए । उनले नगद १ लाख रुपैंयाँ पुरस्कार पाए ।