पुस,८ काठमाडौँ। रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित ५ जनाको मुद्दामा न्यायाधीश नीतिज राईको इजलासमा बहस हुने भएको छ । बयानका लागि रविसहित पाँचै जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।
रवि लामिछानेसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो ।
आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दार्ता भएको थियो । आजबाट बयान सुरु हुँदैछ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ।
थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने छ ।
प्रहरीले रवि लगायतको समूहमाथि विभिन्न सहकारीको बचत ठगी गरेको आरोपमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगी मुद्दा दायर गरेको छ । संगठित समूह बनाएर योजनाबद्ध रूपमा ठगी गरेको आरोपमा उनीहरूमाथि संगठित अपराधको अभियोग पनि छ ।