पुस,७ काठमाडौँ। खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठूलो चुनौति भौतिक पूर्वाधार रहेको बताउनुभएको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले खेलकुद र खेलाडीको बृत्ति विकासका लागि भौतिक पूर्वाधारको अभाव रहेको बताउनुभएको हो । युवा तथा खेलकुद मन्त्रालयको बजेट नगरपालिकाको भन्दापनि कम हुँदा काम गर्न नसकिएको उहाको भनाइ छ ।
मन्त्री चौधरीले मूलपानी, विराटनगर क्रिकेट रङ्गशाला, कीर्तिपुर रङ्गशालामा गरी कूल १२ अर्बभन्दा बढीको लागत लाग्ने उल्लेख गर्नुभयो । त्यस्तै, सातै प्रदेशमा तत्काल क्रिकेट रङ्गशालाको खाँचो देखिएको पनि उहाले बताउनुभयो । मन्त्री चौधरीले खेलाडीहरुको बृत्तिविकास, मनोबल उच्च बनाउन र खेलाडीहरुको आर्थिक आर्जनका लागि नीतिगत निर्णय गर्ने प्रतिवद्धता जनाउनुभयो ।
साक्षात्कारमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले भौतिक संरचनाको अभावमा सोचेअनुरुप खेल र खेलाडीको विकास हुन नसकेको बताउनुभयो । क्रिकेटका लागि टीयू मैदानको पूर्वाधारले मात्रै नधान्ने र अन्य पूर्वाधारको विकार कछुवाको गतिमा भइरहेको उहाले बताउनुभयो । उहाले मुलपानी, गौतमबुद्धलगायतका राष्ट्रिय गौरवको आयोजनाको काम कछुवाको गतिमा भइरहेको उल्लेख गर्नुभयो ।
नेपाल प्रिमियर लिग (एनपीएल) को व्यवस्थापकको रुपमा क्यान सफल भएको उहाले बताउनुभयो । क्रिकेट र खेलाडीको विकासका लागि बजेट व्यवस्थापन गरिदिन उनले खेलकुदमन्त्री तेजुलाल चौधरीको ध्यानाकार्षण गराउनुभयो ।