पुस,७ काठमाडौँ। खोटाङको दिक्तेल बजारमा आगामी फागुन १५ गतेदेखि प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना हुने भएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि फागुन-१५, १६ र १७ गते दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो ।
खेर गइरहेका बाँसलाई जीवन उपयोगी बनाउँदै बाँससम्बन्धी उद्योगहरू सञ्चालनमा ल्याएर रोजगारी सिर्जना गर्ने उद्देश्यले बाँस सम्मेलनको आयोजना गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
राष्ट्रिय बाँस सम्मेलनमा बाँस सोधकर्ता, उद्यमी, व्यवसायी तथा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहने उहाले बताउनुभयो । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको राष्ट्रिय बाँस सम्मेलनमार्फत बाँसको उपयोगिता तथा सम्भावनाका बारेमा सरकारको ध्यानाकर्षण समेत गराइने भट्टराईले बताउनुभयो ।
सम्मेलनमा सय जना सरकारी तथा गैरसरकारी निकाय, सय वन उपभोक्ता समूह, ५० विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका साथै विद्यार्थीहरुलाई समेत प्रत्यक्ष अवलोकन गराइने आयोजकले जनाएको छ ।