पुस,७ काठमाडौँ। कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले दुई दलीय संयन्त्रको निर्र्णयअनुसार बजेट पूनरावलोकन गर्ने भनिएपनि कार्यान्वयनमा गईसकेका योजनाहरुको बजेट कटौती नगरिने बताउनुभएको छ ।
आफुले कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा आइतबार विराटनगर स्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले दोहोरो योजनाहरु र बजेट अभावका कारण प्राथमिकतामा नपरेका योजनाहरुको बजेट मात्र कटौती गरिने बताउनुभयो । चालू आर्थिक वर्षको बजेटमा परेका योजनाहरु मध्ये कार्यान्वयनमा गईसकेका कार्यक्रमहरुको बजेट पूनरावलोकन नहुने मन्त्री राइले बताउनुभयो । मन्त्री राईले प्रदेश सरकारको गौरवको योजनाको रुपमा रहेको कोशी रिफ्रसमेन्टर सेन्टरको निर्माणको योजना लगानी सम्मेलनमा शोकेसमा राखिने र सार्वजनिक निजी साझेदारीमा निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो ।
भूपेन्द्र राई, भौतिक पूर्वाधार विकास मन्त्री, कोशी प्रदेश ।
उहाले सम्बन्धित निर्माण व्यवसायीहरुले रुग्ण योजनाहरुको काम पुनः तिब्र गतिमा निर्माण थालेकाले ठेक्का तोड्नुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो । रुग्ण योजनाहरुको निर्माणका लागि मन्त्री राई सहितको मन्त्रालयका कर्मचारीहरुको टोलीले सम्बन्धित योजना स्थलमा नै र्सार्वजनिक सुनुवाई गरेर निर्माण व्यवसायीहरुलाई काम गर्न दबाब दिएको थियो ।