पुस,३ काठमाडौँ। अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइएको हो ।
दिवसको सन्दर्भ पारेर नेपालमा ‘सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने नाराका साथ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत आप्रवासी श्रमिक दिवस मूल समारोह समितिले काठमाडौंमा बिशेष कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बैदेशीक रोजगार जाने युवाहरुको हकमा विना धितो ऋण प्रदान गर्ने र यसका कारण धेरै व्याजदरमा ऋण लिएर विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।
उहाले श्रमका लागि विदेश गएका युवाहरुको सामाजिक सुरक्षालाई प्रभावकारी बनाउका लागि सरकारले ध्यान केन्द्रीत गरेको उल्लेख गर्नुभयो ।
उहाले देशकै सवै पालीकाबाट रोजगार केन्द्रको सेवा आरम्भ गर्ने र प्रविधीको माध्यमबाट अभिलेखिकरण गरिने बताउनुभयो । श्रम मन्त्रालयमार्फत आन्तरिक रोजगार महाशाखाको प्रस्ताव मन्त्रीपरिषद्मा पठाएको भन्दै उहाले आन्तरिक रोजगारका बारेमा संस्थागत रुपमा काम गरिने जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओइम)द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभरि अनुमानित २८ दशमलव एक करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको सङ्ख्या १६ दशमलव नौ करोड छ । नेपालबाट आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई सात लाख ४१ हजार दुई ९७ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।