पुस,३ काठमाडौँ। सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले जनताका आवाज तटस्थ रुपमा आम नागरिकसम्म पुराउनका लागि केन्द्रीत हुन आग्रह गर्नुभएको छ ।
रेडियो नेपालको कार्यालयमा बुधबार आयोजित स्वागत कार्यक्रममा उहाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई राष्ट्रको आवश्यकताका आधारमा एकिकृत गरी सार्वजनिक प्रसारण संस्था बनाइएको भन्दै जनताका आवाज तटस्थ रुपमा आम नागरिकसम्म पुराउनका लागि केन्द्रीत हुन आग्रह गर्नुभएको हो । उहाले समायोजनको प्रक्रिया निकै जटिल संवेदनशील भएकाले बिज्ञहरुको सुझावका आधारमा अघि बढाइने धारणा राख्नुभयो । सार्वजनिक सेवा प्रशारणमा रुपान्तरण हुने क्रममा आउने विभिन्न चुनौतीको सामना गर्दै सबैले आ आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गर्न उहाले आग्रह गर्नुभयो ।
रेडियो नेपाल र नेपाल टेलिभिजनका प्रमुखहरुले संस्थाको हित हुनेगरी सबैले काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यकारी अध्यक्ष डा. विष्टले मंगलबार नै पदभार ग्रहण गर्नुभएको थियो । मङ्सिर २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले उहलाई सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।