×

सुमना श्रेष्ठद्वारा त्रिवि जग्गा छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,३ काठमाडौँ। प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह गरेकी छिन्। बुधबार, प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले प्रतिवेदन लुकाएर अर्को समिति बनाउने कुरा अनुचित रहेको बताएकी छिन्।

श्रेष्ठले कुलपतिको भूमिकामा रहेका प्रधानमन्त्रीलाई छलफलका लागि समितिमा बोलाउनुपर्ने माग पनि राखेकी छिन् । उनले भनिन्, “अशोक राई शिक्षामन्त्री हुँदा पनि हामीले कुलपतिज्यूलाई उच्च शिक्षा छलफलका लागि बोलाउने प्रस्ताव गरेका थियौं। अहिले त्रिवि जग्गा छानबिनबारे छलफल गर्न पनि उहाँलाई निम्त्याउनुपर्छ।”

सरकारले गत जेठ १७ गते तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठकै प्रस्तावमा शारदाप्रसाद त्रितालको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो। त्रिविको दर्जनौं रोपनी जग्गा हिनामिना भएको आरोपपछि यो समिति बनाइएको हो। कतै निजी घर निर्माण गरिएको छ भने कतै स्कुल र पेट्रोल पम्प सञ्चालन भइरहेको विवरण सार्वजनिक भएको थियो।

समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि, उक्त प्रतिवेदन सार्वजनिक गर्न आलटाल भएको श्रेष्ठको आरोप छ। “प्रतिवेदन सार्वजनिक नगरी अर्को समिति बनाउने कुरा किन? यो आफ्ना कार्यकर्तालाई बचाउन गरिएको कदम हो?” उनले प्रश्न गरिन्।

श्रेष्ठले प्रतिवेदनलाई तत्काल सार्वजनिक गरी कार्यान्वयनमा लैजान जोड दिँदै यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकि छिन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *