पुस,२ काठमाडौँ। सांसदहरुले कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित गर्ने गरि कानून निर्माण गर्नुपर्ने सुझाव दिएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा सुुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि परेका संशोधनमाथिको छलफलका क्रममा उनीहरुले सुरक्षित कारोबारका सम्बन्धमा एकीकृत कानुनी व्यवस्था गरी चल, तथा अमूर्त सम्पत्ति उपरको दायित्व परिपालनामा जोड दिनुपर्ने समेत बताएका थिए ।
उक्त विधेयकमा ६ जना सांसदको संशोधन प्रस्ताव परेको छ । बैठकमा संशोधनकर्ता सांसद माधव सापकोटाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कुनै व्यक्ति तथा निकायबाट गरिने सबै किसिमका कारोबार सुरक्षित रहे-नरहेको यकिन गर्नेगरी विधेयक संशोधन गरिनुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै अर्का संशोधनकर्ता सांसद सोविता गौतमले चल, अचल र अमूर्त सम्पत्तिलाई समेत धितो सम्पतीको रुपमा व्यवस्था विधेयकमा नै गर्नुपर्ने धारणा राख्नुभयो ।
बौद्धिक सम्पतीलाई समेत धितोको रुपमा परिभाषित गर्न सके साना व्यवसायहरुलाई बित्तिय पहुँच पुराउन मद्दत पुग्ने उहाले बताउनुभयो ।
अर्थ मन्त्रालयले २०८० साल फागुन ४ गते उक्त विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो ।
विधेयकले घर, जग्गाबाहेक चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिनेगरी व्यवस्था गरेको छ ।