पुस,२ काठमाडौँ। चितवनको व्राण्डका रुपमा स्थापित चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८१ यहि पुस ११ देखि १५ गते सम्म हुने भएको छ ।
समग्र चितवनको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित हरेक वर्ष जस्तै यो पटक पनि १८ औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव गर्न लागेको महोत्सवका संयोजक रामकुमार अर्यालले जानकारी दिनुभयो । महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजना हुने आयोजक क्षेत्रिय होटल संघ चितवनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
सौराहासहित समग्र चितवनको पर्यटन विकासमा नयाँ आयाम थप्ने महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलबाट समुद्घाटन हुने क्षेत्रीय होटल संघले जनाएको छ ।
क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना, यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि.र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह-आयोजनामा महोत्सव गर्न लागिएको हो ।
चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी गरिएको पर्यटन महोत्सवका संयोजक रामकुमार अर्यालले बताउनुभयो ।
हात्ती महोत्सव अन्तर्गत जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा तथा स्तम्भ अनावरण, हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटवल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्यूजिकल वाक विशेष आर्कषण रहेका छन् ।
महोत्सव अन्तर्गत हुने उल्लेखित विभिन्न गतिविधिमा सरकारी र निजी गरी करीब ८० वटा हात्ती सहभागी हुने आयोजकले जनाएको छ ।